विवाह गर्दा किन जुराउनु पर्छ ?


विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन । फेरि विवाह गरे पनि प्रथम विवाह जस्तो सुमधुर सम्बन्ध हुन सक्दैन । यो सम्बन्धलाई सहज सुन्दर बनाउनका लागि असल बानी व्यहोरा असल चाल चरित्र हुनुपर्छ । त्यति कुरा त सबैले जाने बुझेका हुन्छन् ।  यी र यस्तै अनेक कुरा मिलाएरै विवाह हुने गर्छन्, तर पनि दाम्पत्य सम्बन्ध किन टूटने गर्छ ? आजको नयाँ पुस्ताले यो विषय जान्न बुझ्न नसकेर अनेक दुःख पाएकाले यो लेख प्रकाशित गर्न जरूरी भएको छ ।


जोसँग हामीले जीवन बिताउनु पर्ने हो उसँग हाम्रा नैसर्गिक (जन्मजात) स्वभावहरु मिल्नुपर्छ । परस्परको गुण दोषले परस्परलाई प्रभावित पार्ने भएकाले प्राकृतिक रूपले गुण मिल्नुपर्छ । उमेर, शिक्षा स्वास्थ्य, आर्थिक अवस्था, रुचि, जात, वर्ण आदि मिलाउनै पर्छ । त्यतिमात्र मिलेर पनि पुग्दैन । भकूट अर्थात नाड़ी गुण, गण ,तारा आदि अनेक विषयमा न्यूनतम अंक प्राप्त हुनैपर्छ । यदि गुणमिलान गर्दा ३६ मा आधा अर्थात् १८ गुण भन्दा कम गुण आएमा यो सम्बन्ध सहज सुन्दर हुँदैन, विवाह योग्य मानिदैन । गुण नपुगे पनि विवाह गरियो भने सुस्त सुस्त अरुचि बढ्दै जाने, माया प्रेम कम हुँदै जाने र अन्ततः एकले अर्कालाई वेवास्ता गर्दै जाने स्थिति बन्दछ र अन्तत त्यो सम्बन्ध विच्छेदमा गएर टुङगिन्छ ।

गुण मिलान गरेपछि पुग्यो त ?

हैन, पुग्दैन । राशि मिलान अर्कों झन महत्वपूर्ण पक्ष पनि मिल्नुपर्छ । केटाको राशिबाट केटीको राशि या केटीको राशिबाट केटाको राशि छैठौं या आठौं राशि हुनुहुँदैन । त्यस्तो भएमा एकले अर्कालाई सिध्याउने खेल शुरू हुन्छ । यसप्रकारको षड़ाष्टक दोष नहोस् भन्नका लागि पनि चिना मिलाउनुपर्छ ।

अब यो षड़ाष्टक दोष भएन भने विवाह गर्ने बाटो खुल्यो त ? केहि विचारणीय पक्ष अझै बाँकी छ । जन्म कुण्डलीमा प्रथम द्वितीय चतुर्थ सप्तम द्वादशभावमा मंगल ग्रह भएमा चन्द्रमा, बृहस्पति, राहु, केतु केन्द्रमा नभएमा मांगलिक दोष बन्दछ जसले गर्दा एकले अर्कालाई समाप्त पार्ने अनेक अवस्था उत्पन्न हुन्छ र दाम्पत्य जीवन ध्वस्त हुनपुग्छ । यो विचार गर्न पनि दुवैको जन्मकुण्डली चेक गर्नु र मिलाउनु जरूरी हुन्छ ।

नाड़ी आदि दोष, षड़ाष्टक दोष, मांगलिक दोष छैन भने विवाह गर्न त हुन्छ तर पनि अरु थप विचारणीय पक्षहरु हुने गर्छन् जुन चिना कुण्डली मिलान गर्दा ध्यान दिनु जरुरी मानिन्छ जस्तै - पारिवारिक सुख, भाव सन्तान, सौभाग्य सम्बन्धी भावमाथि पनि विचार पुर्याएर विवाह गरेमा शत प्रतिशत सफल दाम्पत्य सम्भव हुनेगर्छ ।